बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गा.वि.स. हरु समेटेर स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मी. रहेको छ । यहाँ हिन्दु, बौद्ध र क्रिश्चियन धर्मावलम्बीहरुको बसोबास रहेको छ । यहाँको मुख्य भाषा नेपाली हो, त्यस्तै तामाङ, नेवार र अन्य भाषा पनि बोलिने गर्दछन् । यस गाउँपालिकाको कुल जनसंख्या १७,०८५ रहेको छ । "गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग" ले बलेफी गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरको छ । सोही आधारमा गाउँपालिकाले प्रशासनिक एवं सेवा प्रवाहका कार्य गरिरहेको छ । बलेफी गाउँपालिकाको पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन् ।
बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्ला भित्रको एउटा सुन्दर गाउँपालिका हो । यो जिल्लाको मध्य भागमा अवस्थित छ । काठमाडौंबाट अरनिको राजमार्ग हुँदै ७५ किलोमिटर दुरी पार गरेपछि बलेफी गाउँपालिको प्रशासनिक कार्यालय पुगिन्छ । बलेफी गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको बलेफी बजार समुन्द्र सतह देखि ८०० मिटरको उचाईमा रहेको छ । सिन्धुपाल्चोक जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु समेटी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७१ मंसिर २६ गतेको निर्णयअनुसार बलेफी गाउँपालिका घोषणा भएको हो । यस गाउँपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालनका लगायत आन्तरिक पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको छ । सुनकोशी र ब्रम्हायणी नदीको संगमस्थल बलेफी बजारको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको हो । अरनिको राजमार्ग, जुगल हिमालको आधारशिवीर जाने मुल बाटो बलेफी चर्चित एवं ऐतिहासिक बजार हो । बलेफी दोभानमा ऐतिहासिक कपिलेश्वर महादेव मन्दिर रहेको छ ।
बलेफी गाउँपालिका संघीय गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने गाउँपालिका हो । यो गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका ९ गाउँपालिका मध्ये केन्द्र भागमा रहेको छ । समुद्री सतहबाट ८ सय देखि २४ सय मिटरको उचाइमा रहेको बलेफी गाउँपालिकाको प्रशासकीय भवन बलेफी बजारदेखि २ कि.मि. माथि बागले गाउँमा रहेको छ ।
बलेफी दोभान आफैंमा चर्चीत प्राकृतिक दोभान हो । पहाडी भू-बनौटको बलेफी गाउँपालिका प्राकृतिक सम्पदाले भरिएको क्षेत्र हो । सेल्ताप, चिलाउने, नौविसे, जलविरे, वनकाली, धुस्कोट फुल्पिङडाँडा मनमोहक र लोभलाग्दा स्थान बलेफी गाउँपालिका भित्र पर्दछन् ।